आँखा रातो
फोक्सो कालो
वनहरू जलिरहेका
जीवहरू मरिरहेका
दिउँसै अँध्यारो
कुहिरो कुहिरो
सायद हजारौँ मान्छे
उडाइरहेछन् चुरोटको
धुवा एकैपल्ट
त्यो पर देखेको रातो
सूर्य हो या चन्द्रमा
या त
फिलामेन्ट जल्न लागेको
हेलोजन बत्ती
पर टाढाको महलमा
न कुनै भविष्य देखिने
न कुनै भूतको सम्झना
सायद हुने हो कि अन्त्य
यो सृष्टिको
यस्तै यस्तै
चिन्ताले
निदाउन नसक्दा नसक्दै
घाम झुल्किन आँटेको बेलामा
काम झुल्किनु भन्दा अगाडि नै
वर्षीए
नयाँ आसका थोपाहरू
नयाँ सासका थोपाहरू
दिनलाई केही राहत
नयाँ सृष्टिका थोपाहरू
तर फेरि गराएर गयो
त्यही पानीहरूले
त्यतातिर इशारा
कि लेख्नेछ मेरो कलमले
यो जगतको नयाँ
कथा
र हुनेछ प्रलय मेरै हातबाट
यो पूरा जगतको