Skip to Content

जान्ने नै हो त म को हो?

जान्ने इच्छा त राख्यो तिमीले 
म को हो भनेर 
जान्न सक्छौ तिमीले ?
यो समाजको आँखाले 
भन्नेछौ तिमीले पनि 
पागल मलाई
किनकि म गर्दिन सक्छु 
पत्थरमा फूल फुलाउने कुरा 
मरुभूमिमा पानीको मूल खुलाउने कुरा 
र सायद फूल फुलाइदिन्छु पनि होला 
अनि पानीको मूल खुलाइदिन्छु पनि होला 
मेरो के भर म जे पनि गर्दिन सक्छु 
अनि विश्वास नलाग्ला तिमीलाई 
अनि त झन् यो समाजलाई के विश्वास लाग्ला 
म भित्ताहरूको कान होइन 
मुख हुन्छ भन्ने मान्छे हो 
जुत्ताहरूको आफ्नै खुट्टा 
हुन्छ भन्ने मान्छे हो
म चित्रहरू सुन्ने गर्छु
म आवाजहरू देख्ने गर्छु
ताल परे 
म पानीमा आगो जलाएर 
हावा पकाएर खाइदिन्छु 
होला मैले रक्सी पिउन जानेको छैन 
तर 
म कुनै जडिया भन्दा कम पनि छैन 
नबोलीको ठेगान 
न विचारको ठेगाना 
मस्त आफ्नै दुनियामा 
न मलाई भूतले तर्साउँछ 
न मलाई भविष्यले सताउँछ
म ,म नै भगवान हुन्दिन सक्छु 
भगवान छैन पनि भन्दिन सक्छु
र 
भगवान मरे पनि भन्दिन सक्छु
ल भए देखाइदेउ न त अर्को भगवान म बाहेक 
तर मूर्तिमा होइन मन्दिरमा होइन 
ल भए सुनाइदेउ न भगवानका कुरा 
तर वेदमा होइन पुराणमा होइन 
सक्छौ नै भने त 
देखाइदेउ मलाई मनै 
कता छु म 
चिनाइदेउ मलाई को हुँ म 
भनिदेउ मलाई किन हुँ म 
म भन्छु आस गर्नु तर भर नपर्नु 
तर देखाइदेउ म भन्दा भरपर्दो मान्छे 

म त सायद दिन पनि सक्दिन होला तिमीलाई 
त्यो गुलाफको फूल उपहारको रूपमा 
ओइलाई जान्छन् तिनीहरू पनि एकदिन 
तर के थाहा 
यस्तो फुल पो फुलाइदिन्छु कि 
जुनले ओहिल्याउनै बिर्सियोस् 

यस्तो प्रेम पो गरिदिन्छु कि 
जुन मर्नै बिर्सियोस् 

के थाहा मेरो त भर छैन 

तर 

जुन मलाई तिमीले देखिरहेको छौ 
अरु बेला
त्यो म 
मैले माथि भनेको जस्तो छँदै छैन 
यो म त यो समाजमै बाँधिएको छ 
थरीथरी नाताले बाँधिएको छ
थरीथरी कथाले बाँधिएको छ 
विज्ञान साहित्यले बाँधिएको छ
धर्म संस्कृतिले बाँधिएको छ 

अनि सोचौलाउ फेरि दुई अनुहार किन? 
देखिने अर्को, हुने अर्को किन 

म त जे छु त्यो भइदिरहेकै हो 
म त जस्तो छु त्यस्तो देखाइदिरहेकै हो 
तर यो समाजले 
त्यो " म "लाई देख्नै चाहेन 
जो उनीहरूको हिसाबमा पागल हो 
म पागललाई यो समाजले आखिर 
सध्य बनाए सज्जन बनाए मान्छे बनाए 

अब तिम्रो हातमा छ
यात्रा धेरै लामो छ 
अब कुन "म"लाई चिन्ने हो तिमी 

अब यो यात्रामा म साथ दिन्छु त भन्छु 
तर के आधारमा विश्वास गर्छौ तिमी 
यदि विश्वासै छ भने 
आउ सौ मेरो हात 
हिँडिदिउँ
सँगसँगै 
चाहे  जुनसुकै नाता लगाउ
आमा, दिदी, 
बहिनी, छोरी, बुहारी 
दाइ भाइ 
काका मामा 
माइजु भाउजु 
साथी, जीवन साथी 
भगवान 
भक्त 
या त फेरि 
प्रभात नै बनिदेउ आफू। 

यो यात्राभरि गर्नलाई मसँग 
कुराको कमी हुने छैन
गर्दै यस्तै पागलपनका कुराहरू
हिँडिदिउँ
गइदिउँ 
फर्किदिउँ 
त्यही ठाउँमा 
जहाँ यो सब कुराको 
सुरुवात भयो 
Sign in to leave a comment